काठमाडौं ।। नेपाल सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग निवारण गरिसक्ने १२ वर्षअघि घोषणा गरेको थियो । पूर्वनिर्धारित समय बितेको २ वर्ष भइसक्दा पनि कुष्ठरोग निवारण हुन सकेको छैन । सरकारले सन् २०१० मा १० वर्षभित्र नेपालबाट कुष्ठरोग पूर्ण रूपले निवारण हुने घोषणा गर्यो । तर भाका नाघिसक्दा पनि बर्सेनि २ देखि ३ हजारका दरले नयाँ कुष्ठरोगी भेटिने गरेका छन् । सबै उमेर समूहका मानिसलाई कुष्ठरोग हुनसक्छ । तर विशेषगरी १० देखि १५ वर्ष उमेर समूहका बालबालिका र २५ देखि ४५ उमेर समूह व्यक्तिहरूमा कुष्ठरोग देखिने गरेको सरकारको तथ्याङ्कले देखाउँछ । नेपालमा हाल २ लाख कुष्ठ रोगी रहेकोमा सबैभन्दा धेरै लुम्बिनी र मधेशप्रदेशमा रहेको एक जना स्वास्थ्य विज्ञ डा.सन्तोष दुलालले बताउनुभयो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखा पर्नु, अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोग निवारणका लागि सरकारले आगामी योजना बनाएर लागु गरेको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.रविन्द्र बास्कोटाले जानकारी दिनुभयो । कुष्ठरोगको समयमै उपचार गरे पूर्ण रुपमा निको हुन्छ । तर, समाजमा अझैँ पनि कुष्ठरोगीलाई हेला, घृणा र भेदभाव गर्ने गलत परम्परा हटेको छैन । यसले कुष्ठ रोग निवारणमा चुनौती थपेको सरोकारवाला निकायको निष्कर्ष छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here