काठमाडाैं ।। आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा मूल समारोह समितिले आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्ने छ । कार्यक्रममा निश्चित मानिस मात्र भौतिक रूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीसमेत भर्चुअल माध्यमबाटै आयोजना गरिने जनाइएको छ ।





