काठमाडाैं ।। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै तयारीलाई तीव्र बनाइएको छ । काठमाडौंको भृकुटीमण्डपमा प्राङ्गण तथा कभर्ड हलमा हुने काँग्रेस महाधिवेशनलाई लक्षित गरी तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशनको औपचारिक उद्घाटनका लागि भृकुटीमण्डप प्राङ्गणमा मञ्च निर्माणको कामलाई तीव्रता दिइएको छ भने बन्दसत्रका लागि कभर्डहल सजाउन सुरु भएको छ । आउने शुक्रवार दिउँसो प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको छ । मञ्च व्यवस्थापन समितिका सदस्य डा. प्रदीप पराजुलीले मञ्च निर्माणका लागि आवश्यक सामग्री भृकुटीमण्डप पु¥याएर काम सुरु भएको बताउनुभयो । उहाँले मञ्च सुरक्षा घेरबारका सामग्री पनि जम्मा गरिएको भन्दै कभर्डहलभित्र पनि मञ्च निर्माण र सिट व्यवस्थापनको काम सुरु भएको जानकारी दिनुभयो । तीन दिनको अवधिमा मञ्च निर्माणदेखि सिट व्यवस्थापनलगायतका निर्माणकार्य पूूरा भइसक्ने उहाँको भनाइ छ । महाधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब पाँच हजारको सहभागिता हुने अपेक्षा गरिएको छ । प्रतिनिधिका सवारीसाधन पार्किङका लागि खुलामञ्च, विशिष्ट व्यक्ति तथा आमन्त्रित पाहुनाको सवारी पार्किङ महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा व्यवस्था गरिएको छ । त्यस्तै, केन्द्रीय पदाधिकारी तथा सदस्यको मतदानका लागि भृकुटीमण्डप कभर्डहल, बाहिर प्राङ्गण र राष्ट्रिय सभागृह गरी तीन स्थानमा मतदान केन्द्र राखिनेछन् । काँग्रेस महाधिवेशन अवधिभरका लागि प्रदर्शनीमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । महाधिवेशन व्यवस्थापनका लागि काँग्रेस पार्टी समर्थक भूतपूर्व सैनिक सङ्घको नेतृत्वमा १ सय ५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयम्सेवकका रूपमा महाधिवेशन स्थलमा खटिनेछन् । महाधिवेशन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना बनाएको छ । सञ्चारकर्मीको सुविधाका लागि ‘मिडिया सेन्टर’ स्थापना गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार, मतदाता नामावली २४ गते १० बजे पार्टी कार्यालय सानेपामा प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन २५ गते १०–५ बजेसम्म, मनोनयन पत्रमाथि दाबी विरोध दर्ता २६ गते बिहान ८–१० बजेसम्मलाई तोकिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here