काठमाडाैं ।। तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताउनुभएको छ । हिजो एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । तर उहाँले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाउनुभएको छ । तालिवानले अमेरिकाले अफगानीहरुलाई देश छोड्न उक्साइरहेको आरोप लगाइरहेको छ । अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा बढी मानिस विदेश गएको बताइएको छ । तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्। अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्नु पर्ने तालिबानले बताएको छ । सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नु पर्ने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनुभएको हो । उहाँले यो अल्पकालीन व्यवस्था भएको स्पष्ट पार्नुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो महिनाभित्र अफगानिस्तानबाट विदेशी नागरिकको उद्धार गरिसक्ने बताउनुभएको छ । बेलायत, फ्रान्स, जर्मनीसहितले उद्धार अभियानको समयसीमा अगस्ट ३१ बाट बढाउन अमेरिकालाई दबाब दिइरहेका छन् । तर अमेरिकाले भने अहिलेसम्म अगस्ट ३१ कै समय सीमा रहेको बताएको छ ।





