काठमाडाैं ।। नेपालमा कोरोना महामारीसँगै भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीहरु अस्पताल आउने क्रम बढेपछि सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घटेको तर भाइरल ज्वरो लगायतका बिरामीहरु अस्पताल आउने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेको समयमा भाइरल ज्वरो, इन्फ्लूएन्जा लगायतका स्वास्थ्य समस्या देखिने भएकाले कोरोना सङ्क्रमितको सङ्ख्यामा कमि आएको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले कुराकानी गर्दै कोरोना जस्तै लक्षणहरु मिल्दोजुल्दो भएकाले नेपालका विभिन्न अस्पतालमा भाइरलका बिरामी बढेको बताउनुभयो । विशेषगरी प्रदेश २ मा भाइरल ज्वरो लगायतका बिरामीको सङ्ख्या बढेको भन्दै उहाँले सबैलाई लक्षण देखिनासाथ अस्पताल जान पनि आग्रह गर्नुभयो ।





