काठमाडाैं ।। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसघा विघटनबारे सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका छन्।
‘संसद् विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक छ, हामीले यसको देशैभरिबाट विरोध गरिरहेका छौँ, विरोधलाई जारी राख्छौँ,’ सभापति देउवाले भने, ‘अहिले यो मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । अदालतले दिएको निर्णयलाई हामी स्वीकार गर्छौँ ।’
भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित शंखधर चोकमा कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘अदालतमा विचाराधीन कुरामा हामीले बोल्ने कुरा छैन, हामी न यता, न उता । अदालतलाई धम्क्याउने, थर्काउने, प्रभावित पार्ने हाम्रो चलन छैन । हामीले पञ्चायतमा पनि न्यायालयबाट न्याय पाएका थियौँ ।’
देउवाले आफ्नो भाषणमा अधिकांश समय अदालतको निर्णय मान्ने र त्यसलाई प्रभावित पार्न नहुने कुरामा खर्चिए । ‘सरकारले बदमासी गर्न सक्ला, संसद्ले बदमासी गर्न सक्ला, तर अन्तिम निर्णय आउने भनेको न्यायालयबाट हो, अहिलेसम्म मान्दै आएका छौँ, यसपटक पनि अदालतको निर्णय मान्छौँ,’ उनले दोहोऱ्याएर भने, ‘अदालतलाई स्वविवेकीय अधिकार छ, हामी अदालतको निर्णय मान्छौँ । अदालतको निर्णय स्वीकार गर्छौँ ।’
उनले देशमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै चुनावलाई संकेत गरे, र त्यसको तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे । ‘देशमा नयाँ परिस्थिति आएको छ । ओली सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ । हामी कसैसँग मिलेर जाँदैनौँ,’ उनले भने, ‘कोभिडको अवस्था हेरेर कार्यक्रम राख्नेछौँ, यस्ता प्रदर्शन जारी रहनेछन् ।’ सभापति देउवाले कार्यकर्ताहरूलाई जनसम्पर्क बढाउने, अलग्गै राजनीतिक कार्यक्रम र प्रदर्शन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।
‘हाम्रो पार्टी जिम्मेवार पार्टी हो, त्यसैले सरकारका गलत गतिविधिका विरुद्ध कांग्रेस एक्लैले विरोध गर्छ, यसरी गर्दा शक्तिको आकलन पनि हुन्छ, जनतालाई पनि प्रस्ट धारणा राख्न पाउने अवस्था हुन्छ,’ उनले भने ।
उनले खचाखच भिडलाई सम्बोधन गर्न दुई मिटरको दूरी राख्नसमेत आग्रह गरे । ‘कोभिडबाट बचेर प्रदर्शनमा सहभागी बनौँ, भ्याक्सिन आइसकेको छैन, आउन त आउला, आए पनि नेपालमा आइपुग्न अरू एक वर्ष लाग्न सक्छ,’ उनले भने याे समाचार नयाँ पत्रिकामा छापिएकाे छ ।












