तेह्रथुम ।। तेह्रथुमका किसानले सरकारी बेवास्ता र बजार अभाव लगायतका कारण देखाउँदै चिया खेती गर्न छोडेका छन् । चिया खेती प्रवद्र्धनमा स्थानीय सरकारको चासो नदेखिएको उनीहरुको गुनासो छ । उत्पादनमा गिरावट, हरियो पत्तिको विक्री मुल्य नहुनु, मजदुर अभाव, रोगव्याधी बढ्नु, खेतीमा युवा पुस्ताको आकर्षण नहुनुु जस्ता कारणले चिया खेतीमा टिकीरहन किसानलाई समस्या भएको छ । स्थानीय स्तरमै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाको कार्यालय रहेको भएपनि पर्याप्त बजेट र प्राविधिक कर्मचारीको अभावमा किसानले सहयोग पाउन सकेका छैनन् । दिगो बालीको रुपमा रहेको चिया खेती स्थानीय सरकारको समेत उपेक्षामा परेको लालिगुँरास नगरपालिका ९ सोल्माका किसान डिल्लीराम खड्का गुनासो गर्नुहुन्छ । जिल्लामा ३ हजार ८ सय २५ रोपनी क्षेत्रफलमा चिया र कफी खेती हुने गरेको छ । लालीगुराँस नगरपालिकाको सोल्मामा मात्र ३ सय ५० बढी किसान चिया खेतीमा छन् । रासायनिक मल र विषादीको प्रयोग छाडेर अग्र्यानिक खेतीमा लागेका किसानले जैविक मलको पनि अभाव झेलिरहेका छन् । जसका कारण चियाको उत्पादन घटेको बताउनुहन्छ, सोल्माकै अर्का किसान नेत्र बहादुर बस्नेत । पछिल्लो समय गाउँमा चिया मजदुर नै पाईन छाडेकाले पनि समस्या भएको किसानको भनाइ छ । चिया खेतीबाट सोचेजस्तो आम्दानी नभएपछि धेरै किसान खेतीबाट पलायन हँुदै गएका छन् । किसानले लगाएको चियाको बोट हुर्किएर रुख भएका छन् । किसानले काँटछाँट गर्न समेत चासो देखाएका छैनन् । जिल्लामा किसानले लगाएको ७ प्रजातीका चियामध्ये ४ भन्दा बढि प्रजातीमा रोगको प्रकोप फैलिएर बोट नै सुक्न थालेको छ । चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाका प्रमुख केन्द्र कुमार लिम्बु मूल्यको अस्थिरता र श्रमिकको अभाव किसानको मुख्य समस्या भएको बताउनुहुन्छ । वगान व्यवस्थापनको पनि समस्या रहेको उहाँ बताउनुहुन्छ । चियाका बोटमा देखा परेको रोगको पहिचान गरी निदान गर्न नसक्दा बगान नै सुक्दै गएको किसानहरु बताउँछन् । चिया खेतीको विकल्पबारे सोच्न थालेका किसान चिया खेतीको विकासमा स्थानीय सरकारको साथ खोजिरहेका छन् ।
तेह्रथुममा चिया खेतीप्रित किसानको आकर्षण घट्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।