जनकपुर ।। मधेश प्रदेशमा यसपटक समयमै पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् । रोपाइँका लागि उत्तम मानिने असार महिना सकिनै लाग्दा पनि मधेशका किसानहरूले रोपाइँ गर्नका लागि चाहिने सिँचाइ नहुँदा चिन्तित बनेका हुन् । साउन १५ सम्म रोपाइँ गर्ने समय भएपनि यस वर्ष हालसम्म पनि पर्याप्त पानी नपरेका कारण सुक्खा भएको किसानहरू बताउँछन् । मधेश प्रदेश सरकारले मात्रै विद्युत प्राधिकरणसँगको समन्वयमा कृषि विद्युतीकरण गर्ने, डिप ट्यूबेल, स्यालो ट्यूबेल तथा साना सिँचाइ आयोजनालाई व्यवस्थापन गर्ने लगायत हरेक वर्ष करोडौँका योजना बनाउँछ । तर, कार्यान्वयमा आउँदैन । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता ललन कुमार सिंहका अनुसार प्रदेश सरकारसँग पर्याप्त बजेट नहुँदा सिँचाइका योजना प्रभावकारी रुपले कार्यान्वयनमा आउन सकेको छैन । उहाँले प्रदेश सरकारले ल्याउने सिँचाइका कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याउनका लागि बजेटको आकार बढाउनुपर्ने, किसानको अनुपातमा थोपा सिँचाइ, डिप ट्यूबे, स्यालो ट्यूबेल वितरण गर्न सहज हुने बताउनुभयो । उहाँले सिँचाइका ठूला आयोजना प्रदेश सरकारको मातहतमा नहुँदा पनि काम गर्न समस्या भइरहेको स्वीकार्नुभयो । कृषि विभागको असार १५ सम्मको तथ्याङ्क अनुसार देशभर २० प्रतिशत भूभागमा मात्रै धान रोपाइँ भएको छ । मधेश प्रदेशमा यो दर १२ प्रतिशतमा सीमित छ । गत वर्ष यो समयावधिमा मुलुकभरमा गरी ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । एकजना कृषि क्षेत्रका जानकार रामप्रकाश महतोका अनुसार प्रदेश सरकारले सिँचाइका लागि विद्युतिकरण गर्न आवश्यक छ । खेत खेतमा विद्युतिकरण भयो भने किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ । मधेसमा मात्रै होइन, सुदूरपश्चिमका कञ्चनपुर, कैलालीलगायत तराईका जिल्लामा पनि पर्याप्त पानी नपर्दा किसानले रोपाई गर्न पाएका छैनन् । यसले किसानलाई के खाने भन्ने चिन्ता मात्रै छैन, समग्रमा धान उत्पादनमा कमि आउने विज्ञहरू बताउँछन् ।
मधेश प्रदेशमा समयमै पानी नपर्दा किसानहरू चिन्तित, प्रदेश सरकारका सिँचाइ आयोजना प्रभावहीन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।