काठमाडौँ ।। सरकारले यही जेठ महिनादेखि सबै सरकारी निकायलाई शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । तर पहाडी क्षेत्रका विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू भने दुई दिने बिदा लागु नगर्ने पक्षमा देखिएका छन् । महिनामा ८ दिन विद्यालय बन्द गरिँदा पठनपाठन प्रभावित हुने उनीहरूको भनाइ छ । सरकारी निकायमा हप्तामा २ दिन बिदा दिने निर्णय सरकारले गरेको छ । त्यसैअनुसार शिक्षा मन्त्रालयले देशभरका सबै विद्यालयमा परिपत्र गरेपनि कतिपय विद्यालयका शिक्षक अझैँ अन्योलमा छन् । बर्खे र हिउँदे बिदा घटाएर भएपनि हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउनु भन्ने शिक्षा मन्त्रालयको निर्देशन छ । त्यसो गर्दा आफ्ना बालबालिकाको पढाइ पूरा नहुने बाजुराका नारायण जोशीले बताउनुभयो । सरकारले पेट्रोल र डिजेलको भाउ महङ्गो हुँदै गएको, यसैका कारण तरलता अभाव सिर्जना भएको निष्कर्र्श निकाल्दै सरकारी स्रोतसाधन दुई दिन प्रयोग नगर्ने नीति बनाएको हो । तर सवारीसाधन नै नचल्ने ठाउँमा बिदामा कर गर्न नहुने तेह्रथुमका अमृत घतानीको भनाइ छ । अब विद्यालयले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठन गर्ने र आइतबार बिदा दिँदा अपुग भए हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्नुपर्ने हुन्छ । यो निर्णयमा सरकारी मात्रै होइन, निजी विद्यालयहरू पनि सहमत छैनन् । आइतवार विद्यालय बन्द गर्ने निर्णयको विरोध भएपनि शिक्षा मन्त्रालयले भइसकेको निर्णयमा पुनर्विचार गर्न नसकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । कोरोना महामारीको कारण दुई वर्षदेखि शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको छ । विद्यार्थीले पठनपाठनमा चाहेजसरी सहभागिता जनाउन सकेका छैनन् । यसअघिको दुई वर्ष पठनपाठन प्रभावित भएका कारण पनि दुई दिने विदा कार्यान्वयन गर्न नसकिने विद्यालयहरूको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here